सत्तारुढ नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल जारी



काठमाडौं हसोज २४ ।

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ।

दुई अध्यक्षबीच दुई घण्टादेखि छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी छन्। मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ।

केही दिनदेखि दुई अध्यक्षबीच छलफल निरन्तर भइरहे पनि ठोस निष्कर्ष निस्किएको छैन। ६ असोजमा बसेको सचिवालय बैठकले एकताको बाँकी काम टुंग्याउन १० दिनभित्रमा प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्षद्वय र महासचिवलाई दिएको थियो।

१० दिनको समय बितिसक्दा पनि प्रस्ताव तयार पार्ने काम सकिएको छैन। नेकपामा जनवर्गीय संगठनहरू, पाँचवटा निकाय, ३२ विभागसहित एक नीति प्रतिष्ठान, प्रवास समन्वय र विशेष जिल्ला कमिटीले पूर्णता पाउन बाँकी छ। त्यस्तै मन्त्रीपरिषद पुनर्गठन पनि अहिलेसम्म अन्यौलमै रहेको छ। दुई अध्यक्षबीच पुनर्गठनका विषयमा सहमति बन्न नसक्दा ढिला भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्