फ्रान्कफर्ट फार्मेसीद्वारा झोरमा निःशुल्क स्वास्थ्य परीक्षण
टोखा,कात्तिक २४ । शुभ दीपावलीको अवसरमा टोखा नगरपालिका–१ मा सञ्चालित फ्रान्कफर्ट फार्मेसी एण्ड क्लिनिकले लक्ष्मीपूजा तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
विगत केही वर्षदेखि टोखा नगरपालिका–१ मा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाले नियमित स्वास्थ्य सेवा तथा औषधि उपलब्ध गराउनुका साथै विभिन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।
लक्ष्मीपूजाको अवसरमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाको रक्तचाप, मधुमेह तथा दन्त स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका सञ्चालक प्राध्यापक डा. कृष्ण ढुंगानाले झोरवासीको निरन्तर माया, विश्वास र सहयोगका कारण स्थानीय समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
टोखा नगरपालिका–१ का वडा अध्यक्ष रमेशकुमार लामिछानेले यस्ता कार्यक्रमले स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउनुका साथै स्वास्थ्य सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
स्थानीय समुदायको स्वास्थ्य सेवामा पहुँच विस्तार तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएको फ्रान्कफर्ट फार्मेसी एण्ड क्लिनिकको यो पहलले स्थानीय बासिन्दालाई लाभ पुर्याएको छ।

