राष्ट्रपतिद्वारा ३ मन्त्रीलाई शपथग्रहण



काठमाडौं असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ जना मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा तीन जना मन्त्रीलाई शपथ खुवाइएकी हो । विष्णु पौडेलले अर्थ, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सहरी विकास र लिलानाथ श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी पाएका छन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए पनि पार्टीका शीष नेताहरु उपस्थित भएनन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल कोरोना संक्रमणको जोखिमलाई देखाउँदै कार्यक्रममा गएनन् । अर्का वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएर अस्पतालमा छन् ।

प्रचण्ड र नेपाल समूहले पार्टी सचिवालय र स्थायी कमिटी बैठकको स्पिरिटविपरीत मन्त्रिमण्डल गठन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै तीन जना मन्त्री थपेका थिए ।

प्रतिक्रिया दिनुहोस्