समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार सक्रिय छ:प्रधानमन्त्री ओली



काठमाडौं कात्तिक १ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिवारशुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छन् ।

सन्देशमा उनले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सक्रिय रहेको जानकारी समेत दिए ।

सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडिबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई देशभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न अनवरत प्रयास गरिरहेको उहाँले सन्देशमा उल्लेख गरेका छन् ।

आर्थिक सामाजिक रुपमा पछाडि परेका जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने, सबै प्रकारका साधन स्रोत र अवसरमा पहुँच सुनिश्चित गर्ने, आत्मसम्मानपूर्वक बाच्ने र मानव अधिकारको संरक्षण गर्दै जनताको जीवनस्तर उठाउने काममा सरकार निष्ठापूर्वक सक्रिय रहेको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आउँदो बाटो तय गरेको बताएका छन् ।

देशको जनशक्तिलाई देश निर्माणमा सदुपयोग गर्ने र समाजिक हितको सकारात्मक बाटोतर्फ डोर्याउन सचेत अभियानको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्