कर्णालीका नेतालाई ओलीले भने : तपाईहरुले पार्टीको निर्णय मान्नुपर्छ



काठमाडौं कात्तिक १ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि विवाद देखिएको थियो। दुवै पक्षका नेताहरुलाई काठमाडौं छलफलका लागि बोलाइएको थियो।

बिहीबार र शुक्रबार प्रधानमन्त्री ओलीले कार्यव्यस्तताका कारणले छलफल गर्न नसकेपछि आज दुवै पक्षलाई बोलाएर छलफल गरेका हुन्।

छलफलमा मुख्यमन्त्री शाहीसहितका नेताहरुले आ–आफ्ना कुराहरु राखेका थिए। सबैका कुरा सुनेपछि अन्तिममा प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेका थिए। ‘प्रधानमन्त्रीले हामी सबैका कुरा सुनेपछि आफ्नो धारणा राख्नुभयो, ’प्रदेश सचिव मायाप्रसाद शर्माले भने।

छलफलमा आफूले पार्टी र सरकार प्रभावकारी रुपले सञ्चालन हुनुपर्ने धारणा राखेको उनले बताए।

‘तपाईहरुको कुरा मैले सुने। अब म र पार्टी अध्यक्ष पुष्पकमल दाहाल बसेर छलफल गर्छौँ,’ ओलीको भनाई उधृत गर्दै उनले भने, ‘हामी उपयुक्त निर्णय लिन्छौँ। तपाईहरुले पार्टीको निर्णय मान्नुपर्छ।’

छलफलमा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कंडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही सहभागी थिए।

कार्यकारी अध्यक्ष दाहालले भने यसअघि नै बिहीबार र शुक्रबार नेताहरुसँग छलफल गरेका थिए। आजको छलफलमा अध्यक्ष दाहाल भने सहभागी थिएनन्। उनले आफूले छुट्टै छलफल गरिसकेकाले सहभागी नहुने बताए।

प्रतिक्रिया दिनुहोस्