राष्ट्रियसभा अध्यक्ष तिमल्सिनासहित तिन जना सांसदले गरे दसैंभत्ताबापतको रकम फिर्ता



काठमाडौं कात्तिक २ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासहित सांसदहरु भीम रावल, गगन थापा र सूर्य पाठकले दसैंभत्ताबापतको रकम फिर्ता गरेका छन्।

अध्यक्ष तिमल्सिना र थापाले दसैंभत्ताबापत खातामा जम्मा भएको रकम नगदै संसद् सचिवालयमा फिर्ता गरेका हुन्। सांसद रावल र पाठकले भने रकम फिर्ताका लागि पत्राचार गरेको सचिवालयले जनाएको छ। अब उनीहरुले कात्तिकमा पाउने तलबभत्ताबाट कट्टी हुनेछ।

संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले तिमल्सिना, थापा, रावल र पाठकले आफू र आफ्नो स्वकीय सचिवका नाममा आएको दसैंभत्ता फिर्ता गरेको जानकारी दिए।

संघीय संसद्का सदस्य र सांसदका स्वकीय सचिवलाई दसैंभत्ता वितरण गरेपछि आलोचना भएको थियो। सांसदहरुले मासिक रुपमा पाउँदै आएको ६५ हजार तलबमा त्यति नै बराबर सचिवालयले बैंक खातामा दसैंभत्ता पठाएको छ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले एकनास तलबभत्ता पाउने गर्छन्। तर, मन्त्री रहेकाले भने मन्त्रीबापतको सेवासुविधा पाउने हुँदा संसद् सचिवालयबाट तलबभत्ता बुझ्दैनन्।

प्रतिक्रिया दिनुहोस्