फेवातालमा पर्यटकको घुइँचो, दैनिक ८ हजारसम्म डुङ्गा सयर



पोखरा,कात्तिक ३०। पर्यटकीय नगरी पोखराको फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । दसैँदेखि तिहार हुँदै छठ पर्वसम्म दैनिक ७ देखि ८ हजारसम्म पर्यटकले डुङ्गा सयर गर्न थालेपछि फेवातालका डुङ्गा व्यवसायी उत्साहित भएका छन् ।

फेवातालमा डुङ्गा सयरसँगै कायकिङ गर्ने पर्यटकको आकर्षण पनि बढेको छ । ताल किनारमा पर्यटकको भीड लाग्ने गरेको छ भने तालको बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जाने भक्तजनको चहलपहल पनि उल्लेख्य देखिएको छ ।

फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीका अनुसार घटस्थापनादेखि छठ पर्वसम्म दैनिकजसो ७ देखि ८ हजार आन्तरिक तथा बाह्य पर्यटकले फेवातालमा डुङ्गा सयर गर्ने गरेका छन् । दसैँलगत्तै करिब एक सातासम्म प्रतिकूल मौसमका कारण पर्यटन गतिविधिमा केही असर परे पनि पछिल्लो समय पर्यटकको आगमन पुनः बढेको उहाँले बताउनुभयो ।

शैक्षिक भ्रमणका लागि विभिन्न स्थानबाट विद्यार्थीहरू पोखरा आउने क्रम सुरु भएकाले व्यवसायमा थप उत्साह थपिएको अध्यक्ष गिरीको भनाइ छ । सङ्गठनमा आबद्ध व्यवसायीले पर्यटकको चापलाई ध्यानमा राख्दै डुङ्गा व्यवस्थापन गरिरहेका छन् । सङ्गठनसँग हाल ८० वटा प्याडल बोट र ७६७ वटा काठका डुङ्गा रहेका छन् ।

फेवातालमा कायकिङ गर्ने युवायुवती तथा पर्यटकको आकर्षण बढ्दै गए पनि यसको सञ्चालनमा आवश्यक मापदण्ड र नियमनको अभावप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । कायकिङका क्रममा लाइफ ज्याकेट अनिवार्य भए पनि केहीले तालको बीचमा फोटो तथा भिडियो खिच्दा लाइफ ज्याकेट खोल्ने गरेको भन्दै दुर्घटनाको जोखिम बढ्न सक्ने उनीहरूको भनाइ छ । स्थानीयले नियमित अनुगमन र प्रभावकारी नियमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

त्यस्तै, आवश्यक मापदण्ड पूरा नगरी तथा राज्यलाई कर नतिरी कायकिङ व्यवसाय सञ्चालन गर्ने प्रवृत्तिले परम्परागत डुङ्गा व्यवसायीलाई समस्या परेको व्यवसायीहरूको गुनासो छ ।

फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पुनर्निर्माण सम्पन्न भई दसैँदेखि मूल मन्दिरमै नियमित पूजाआजा तथा दर्शनका लागि खुला भएपछि भक्तजनको आवागमन पनि बढेको छ । भूकम्पका कारण मन्दिर करिब तीन इन्च ढल्किएपछि पुनर्निर्माण गरिएको थियो । करिब एक करोड ४० लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएपछि दसैँदेखि मूल मन्दिरमा पूजाआजा सुरु गरिएको हो ।

मन्दिर दर्शनका लागि डुङ्गा चढेर तालको बीचमा पुग्नुपर्ने भएकाले धार्मिक पर्यटकको आगमनले पनि डुङ्गा व्यवसायमा सकारात्मक प्रभाव पारेको अध्यक्ष गिरीले बताउनुभयो ।

दसैँ, तिहार र छठ पर्वसँगै लगातारका सार्वजनिक बिदा तथा शैक्षिक भ्रमणको मौसमले पोखराको पर्यटन गतिविधि थप चलायमान बनेको छ । फेवातालमा बढेको पर्यटकको चहलपहलले पोखराको पर्यटन व्यवसायमा नयाँ आशा जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्