सांसद हितबहादुर तामाङको दसैं भत्ता फिर्ता, जनस्वास्थ्यका काममा खर्चन सरकारलाई अनुरोध



काठमाडौं कात्तिक ३ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले दसैं भत्ता फिर्ता गर्ने जानकारी गराउँदै उक्त रकम जनताको स्वास्थ्य सेवासँग सम्बन्धित काममा खर्च गर्न सरकारलाई अनुरोध गरेका छन् ।

सामाजिक सञ्‍जाल फेसबुकमार्फत सोमबार तामाङले आफ्नो व्यक्तिगत खातामा प्राप्त भएको दसैं भत्ता स्वरुप रकम फिर्ता गर्ने जानकारी गराएका हुन् । ‘सांसद भएबापत मेरो व्यक्तिगत खातामा प्राप्त भएको दसैं भत्ता स्वरुप रकम फिर्ता गर्ने व्यहोरा सर्वसाधारणको जानकारीको लागि अनुरोध गर्दछु’ उनले लेखेका छन् । एक सांसदले दसैं भत्ताबापत सरकारबाट ६४ हजार ७० रुपैयाँ प्राप्त गर्छन् ।

नुवाकोट निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद एवं सत्तारुढ नेकपा नेता रहेका तामाङले सरकारले नागरिकको स्वास्थ्यसँग सम्बन्धित न्युनतम समस्या पनि हल गर्न नसकेको टिप्पणी गरेका छन् । ‘मुलुक कोरोना भाइरस (कोभिड-१९) ले ग्रस्त छ । जनताका आर्थिक क्रियाकलापहरु पुरै प्रभावित भएका छन् । जनता रोग र भोकको समस्याले प्रताडितमात्रै छैनन् दसैं तिहारजस्तो चाडमा आफ्ना बालबालिका र बूढी आमा र बुढा बालाई एकछाक मिठो खान खुवाउन सक्ने अवस्थामा छैनन् । सरकारले नागरिकको स्वास्थ्यसँग सम्बन्धित न्युनतम समस्या पनि हल गर्न सकिरहेको छैन, ‘ सांसद तामाङले लेखेका छन्, ‘यस्तो अवस्थामा सांसदले पाउने दशै भत्ता वापतको रकम फिर्ता गर्ने निर्णय गर्दछु र उक्त रकम जनताको स्वास्थ्य सेवासँग सम्बन्धित काममा खर्च गर्न सरकारलाई अनुरोध गर्दछु ।’

यस्तै हिन्दुहरुको बडा दसैंको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका आमाबुवा, दिदीबहिनी, दाजुभाइ सम्पूर्णलाई शुभकामनासमेत व्यक्त गरिएको छ । सांसद तामाङले कोभिड-१९ को प्रकोपबाट बच्न बिश्व स्वास्थ्य संगठन एवम् नेपाल सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी निर्देशिका र मापदण्डहरुको पूर्ण पालना गरी आफू बचौं र अरुलाई पनि बचा‌औं भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्