कर्णालीको विवादबारे ओली र प्रचण्डको छुट्टा छुट्टै विज्ञप्ती



काठमाडौं कात्तिक ४ ।

कर्णालीको विवाद समाधान गर्न भन्दै नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन विवाद चर्किएको छ ।

मंगलबार दिउँसो बालुवाटारमा बैठक बसेपनि बेलूकी फेरि फरक फरक विज्ञप्ती आएका हुन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले दुई अध्यक्षबीच ४ बुँदे सहमति भएको बताएका छन् । तर प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने दुई अध्यक्षबीच कुनै सहमति नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

ओलीले प्रचण्डसँग कर्णाली विवाद मिलाउन मुख्यमन्त्री महेन्द्र शाहीले गरेका निर्णय खारेज गर्ने, प्रमुख सचेतक र सचेतक पुरानै राख्ने लगायत विषयमा सहमति भएको बताएपनि प्रचण्डले भने त्यसलाई अस्वीकार गरेका छन् ।

दुई अध्यक्षबीचको विज्ञप्ती प्रतिष्पर्धाले कर्णालीको विवाद घट्नुको साटो झन बढिरहेको छ । यसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावले मूर्त रुप पाउने सम्भावना बढेको छ भने प्रदेश सरकार थप संकटमा फसेको छ । यसले नेकपाको हेडक्वार्टर पनि तरंगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्