जसपाको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई



काठमाडौं कात्तिक ४

नवगठित जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टी एकता भएको ६ महिनापछि सांगठनिक एकता र कार्यविभाजन टुंग्याएको छ ।

जसपाले संघीय परिषदको अध्यक्षमा डा बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको छ । तुलसी स्मृति प्रतिष्ठानमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले संघीय परिषदको अध्यक्ष डा बाबुराम भट्टराईलाई बनाकएको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको ६ महिनापछि बल्ल सांगठनिक एकता र कार्यविभाजन टुंग्याएको छ । त्यस्तै, जसपाले विधान संशोधन गर्दै ४ सय तत्कालीन राजपाबाट र ४ सय सपाबाट र १ जना दुबै पार्टी मिलानबाट गरी कुल ८ सय १ केन्द्रीय सदस्य रहने गरी केन्द्रीय कमिटी गठन गरेको छ ।

पार्टीले पाँच वटा केन्द्रीय निकायमा समेत जिम्मेवारी बाँडफाड गरेको छ भने २९ वटा केन्द्रीय विभागहरुको समेत निष्कर्षमा पुर्याएको छ । बैठकले प्रदेश स्तरीय समायोजन २०७७ कार्तिक २५ गतेसम्म, मंसिर १५ गतेसम्म स्थानीय तहको, जिल्ला समन्वय समितिको मंसिर ३० गतेसम्म र जनवर्गीय संगठनहरु मंसिर मसान्त सम्ममा समायोजन टुंग्याइ सक्नुपर्ने निर्णय गर्दै प्रतिनिधिहरुलाई जिम्मेवारी दिएको छ ।

जसपामा बहसको विषय बनेको प्रदेश २ को सरकारलाई कुनै हेरफेरु नगर्ने र वर्तमान सरकारलाई नै तत्काल निरन्तरता दिने निर्णय पनि गरेको छ । यसअघि जसपाले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र डा बाबुराम भट्टराईलाई वरिष्ठ नेतामा राखिएको थियो । केन्द्रीय कार्यकारिणी समिति ५३ जनाको हुने टुंगो लगाएको थियो ।

यस्तै जसपाको केन्द्रीय कार्यकारिणी सभाको बैठकले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमितको निशुल्क उपचार तथा परीक्षण नगर्ने नेपाल सरकारको निर्णयलाई जनताको संवैधानिक मौलिक हकविपरीत भन्दै भर्तसना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्