सरकारविरुद्ध विप्लव नेतृत्वको नेकपाको आन्दोलन घोषणा



काठमाडौं कात्तिक ५ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार कात्तिक १५ गते कोणसभा गर्ने, १७ गते पर्चा वितरण गर्ने र २० गते विरोध जुलुस निकाल्ने तय गरिएको छ ।

विप्लवले वर्तमान सरकार जनता र राष्ट्रपति हदैसम्म गैरजिम्मेवार बनेको आरोपसमेत लगाएका छन् । सरकारका क्रियाकलापले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरु अझै जटिल बन्दै गएको विप्लवको ठहर छ । कोरोनाको निःशुल्क परीक्षणबाट पन्छिएर सरकार अमानवीय बनेको आरोप विप्लवले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्