प्रधानमन्त्रीबाटै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखियो : गगन थापा



काठमाडौं कात्तिक ७ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले ‘रअ’का प्रमुखसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षामा थ्रेट देखिएको बताएका छन् ।

थापाले प्रेस नोट सार्वजनिक गर्दै प्रधानमन्त्रीको यस्तो गैर राजनीतिक र गुप्तचरसँग भएको भेटमाथि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेटघाट गरेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट जनाइसकेका छन्।

थापाले प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई शिष्टाचार भेट भन्नु नै गैह्रकुटनीतिक र हास्यास्पद रहेको बताएका छन्। ‘लडाईको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्न मान्न सकिन्न,’ थापाले भनेका छन्।

परराष्ट मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय भएको थापाको भनाइ छ।

‘यस प्रकरणपश्चात पनि केही बुद्धिजिवीहरुले सामाजिक सञ्जालमा दुई देश बीचको सम्बन्धमा सुधारका लागि यो भेटघाट आवश्यक थियो भनेर प्रधानमन्त्रीको बचाउ गरेको देख्दा उद्देक लागेको छ,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यो प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सही दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्णरुपमा असक्षम भएको प्रष्ट पारेको थापाको भनाइ थापाको छ।

प्रतिक्रिया दिनुहोस्