प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा कांग्रेसको आपत्ति



काठमाडौं कात्तिक ७ ।

प्रधानमन्त्री केपी ओलीले दिएको दशैं शुभकामनामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले दशैं शुभकामना दिँदा लिम्पियाधुरासहितको भूभाग नसमेटिएको नेपालको नक्शा प्रयोग गरेपछि कांग्रेसले प्रश्न उठाएको हो । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले दिएको दशैं शुभकामनामा सामाजिक सञ्जालबाटै प्रश्न गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा नसमेटिएको नक्शा प्रयोग गर्नुको कारण सोधेका छन् ।

देशको संसदले पारित गरेको नक्शा अब नक्शामै असुरक्षित भएपछि जग्गा कसरी फिर्ता होला भन्दै शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । प्रधानमन्त्री ओलीले दशैंको शुभकामना दिन प्रयोग गरेको तस्वीरमा नेपालको निशान छाप अंकित गरिएको छ । तर उक्त छापमा रहेको नेपालको नक्शामा भने हालै संविधान संशोधन गरेर समेटिएको लिम्पियाधुरासहितको भूभाग नसमेटी पुरानै नक्शा राखिएको छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्