मुम्बई इन्डियन्स आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लियो



एजेन्सी कात्तिक ८ ।

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ ।

सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो । यस्तै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्