लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने तयारी



रुपन्देही कात्तिक ८ ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङको देउखुरीमा बस्ने गरी छलफल सुरु भएको छ ।

प्रदेश सभा बैठक सञ्चालन गरेर स्थायी राजधानीको अनुभूति गराउन सदन चलाउने विषयमा देउखुरीमा छलफल सुरु भएको हो । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन सुरु भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन थालेको छ ।

दुई हप्ताअघि प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी टुङ्गो लागेको थियो । देउखुरीको राप्ती गाउँपालिकामा रहेका पूर्वाधारको अध्ययनसहित छलफल भएको प्रदेश सभा सदस्य इन्द्रजीत थारुले जानकारी दिए ।

राप्ती प्राविधिक शिक्षालयको भवनमा तत्कालका लागि प्रदेश सभा बैठक बसाल्न र मन्त्रालयका कार्यालय राख्न पुग्ने संरचना रहेको पनि उनले बताए । बडादशैँ लगत्तै पूर्वाधार विकास प्राधिकरणको कार्यालय राप्ती गाउँपालिकामा स्थापना हुने भएको छ । यो प्रदेश राजधानी भएपछि स्थापना हुने पहिलो कार्यालय बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्