नेकपा कार्यकर्ताको हत्या गरिएको घटनाको छानबिन गर्न कांग्रेसको माग



काठमाडौं कात्तिक ८ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्साको विन्दावासीनी गाउँपालिकाका नेकपा सचिव एवम् नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौंरु उनले प्रश्न गरेका छन्। कांग्रेसले विज्ञप्ति मार्फत् घटनाका विषयमा प्रधानमन्त्री एवम् नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराएको छ।

‘सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच पर्सा जिल्लामा असोज ६ गते बिहीबार झडप भएको, एक घाइतेको उपचारका क्रममा निधन भएको, दोषीमाथि कारबाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ।’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नागरिकको जीवनरक्षा राज्यको प्रथम कर्तव्य भएको कांग्रेसको ठहर छ। ‘नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ। प्रधानमन्त्रीकै जिल्ला झापामा यसबीचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसबीचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन्,’ प्रवक्ता शर्माले भनेका छन्, ‘पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ।’

घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व भएको उनले बताएका छन्। तर ३ दिन पुग्दासम्म जाहेरीसमेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय भएको कांग्रेसले भनेको छ।

नेपाली कांग्रेसले निष्पक्ष अनुसन्धान र कानूनी कारवाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्