आईपीएल: दिल्ली क्यापिटल्स कोलकातासँग ५९ रनले पराजित



एजेन्सी कात्तिक ९ ।

युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा कोलकाताले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीलाई ५९ रनले पराजित गरेको हो ।

कोलकाताले दिएको १ सय ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । जितसँगै कोलकाताले दिल्लीसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । पहिलो भेटमा दिल्लीले कोलकातालाई १८ रनले हराएको थियो ।

यस्तै हिजै भएको अर्को खेलमा किङ्स इलाभेन पन्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । दुबईमा गएराति भएको खेलमा पन्जाबले हैदराबादमाथि १२ रनको जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय २७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

जितसँगै पन्जाबले हैदराबादसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा पन्जाब ६९ रनले पराजित भएको थियो । हैदराबादलाई हराएपछि पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ । हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ । हैदराबाद तालिकाको छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्