स्वास्थ्यको मापदण्ड पालना गरेर दसैं मनाऔं : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौं कात्तिक ९ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् ।

यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको भन्दै उनले परिस्थितिको यो बाध्यता अनुरुप नै चाडपर्व मनाउन अपिल गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध र सरकार सधैं आम नागरिकको साथमै रहेको उल्लेख गर्दै मन्त्री ढकालले यो महामारी विरूद्धको लडाइँमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी रहेकोमा जोड दिए ।

सबै तहका सरकार, राजनीतिक दलहरू, समूदाय, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गर्दै मन्त्री ढकालले यो एकताले महामारीविरुद्धको विजय सम्भव हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्