अछामको रामारोशन गाउँपालिकामा उपाध्यक्षद्वारा तालाबन्दी



अछाम कात्तिक १२ ।

अछामको रामारोशन गाउँपालिकाको कार्यालयमा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले तालाबन्दी गरेकी छन् ।

तानाशाह शैलीमा एकलौटी तरिकाले गाउँपालिका चलाएको भन्दै रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावले बुधबार तालाबान्दी गरेकी हुन् । उपाध्यक्ष रावलले एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको जानकारी दिएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐेन विपरीत उपाध्यक्षको अधिकार खोसेर काम भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकामा रहेका योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भए पनि अनुगमन प्रतिवेदन विना योजनाको भुक्तानी दिन लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कर्मचारी भर्ना तथा छनोटमा अनियमिता गरेको उनको आरोप छ ।

गाउँपालिका सरकारले गर्ने हरेक काम कारबाहीमा आन्तरिक तथा पार्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद र उपाध्यक्ष रावल दुवै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले समेत केही दिनअघि शान्तडा बजारमा प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्