असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने सरकारको तयारी



काठमाडौं कात्तिक १३ ।

सरकारले असार मसान्तभित्र गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण गरिसक्ने भएको छ ।

अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आउँदो असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने निर्णय गरेका हुन् ।

असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरणको काम सक्नेगरी आवश्यक व्यवस्था भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने भएको छ । त्यसका लागि आवश्यक पर्ने स्रोतको व्यवस्थापन भने अर्थ मन्त्रालयले गर्ने भएको छ ।

गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सम्पन्न गर्ने कार्ययोजनासहितको तालिका एक हप्ताभित्र तयार गर्ने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

गरिब तथा विपन्न वर्गको तथ्याङ्क नहुँदा राज्यका तर्फबाट राहत तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्न समस्या भएको र वितरण कार्य पनि उपलब्धिपूर्ण एवं प्रभावकारी हुन नसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

उनले गरिब घरपरिवार परिचय पत्रले लक्षित एवं विपन्न वर्गलाई राहत, सहुलियत, रोजगारी, सामाजिक सुरक्षा लगायतमा विशेष सहयोग पुर्याउने समेत बताएका छन् ।

उनले गरिब तथा विपन्न वर्गलाई लक्षित गरी विभिन्न निकायबाट सञ्चालित कृषि कर्जा, सहुलियतपूर्ण व्याज, कृषिका लागि अनुदान, स्वास्थ्य उपचार, शिक्षामा सहुलियत लगायतका कार्यक्रमको प्रभावकारिता बढ्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्