भारतमा कुटिएका विद्यार्थीको तत्काल उद्धार गर्न कांग्रेसको माग



काठमाडौं कात्तिक १३ ।

भारतको देहरादूनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन र पीडित विद्यार्थीको अविलम्ब उद्धार गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्।

कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसले जनाएको छ।

देहरादूनमा विजयादशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले माग गरेको छ।

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि कांग्रेसले भनेको छ।

यसैबीच विद्यार्थी कुटिएको विद्यालयबाट दुई नेपाली विद्यार्थी सुदूरपश्चिम पश्चिम नाका गड्डाचौकी हुँदै कञ्चनपुरको महेन्द्रनगर आइपुगेका छन्। देहरादूनको शाक्य एकेडेमीमा अध्ययनरत दुई नेपाली विद्यार्थी सीमा नाका गड्डाचौकी पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

देहरादूनको डिकिलिङस्थित शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीलाई त्यहाँका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले कुटपिट गरेका खुलेको छ। विद्यार्थी कुटिएको विषयमा आफन्तले जानकारी गराएपछि घटना बाहिर आएको हो।

बुधबार यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले परराष्ट्रमन्त्री र दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यलाई मेन्सन गरेर ट्विट गरेकी थिइन्।

यस विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आवश्यक छानविन अघि बढिसकेको जानकारी दिएका थिए। भारतका लागि नेपाली राजदूत आचार्यले पनि घटनाबारे बुझ्ने काम भइरहेको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्