कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक



काठमाडौं कात्तिक १४ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन् । कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतका अनुसार १७ कात्तिकमा बैठक बोलाइएको छ। केन्द्रीय कार्यसमितिको बैठक २१ कात्तिक दिउँसो १ बजे बस्दैछ। यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो।

महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ । सभापति देउवाले महाधिवेशनको मिति तय भइसकेपछि पनि एकलौटी रुपमा विभिन्न विभागहरु गठन गरेको, क्रियाशील सदस्यता वितरणलगायत विषयमा पौडेल पक्षले विरोध जनाउँदै आइरहेको छ। १२ असोजमा केन्द्रीय पार्टी कार्यालयमा पौडेल समूहले सभापति देउवालाई विरोधपत्र समेत बुझाएको थियो।

शीर्ष नेताहरुको बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने एजेण्डा तय गर्ने बताइएको छ। केन्द्रीय समितिको बैठक अगावै आफूहरुले अघि सारेका विषयहरु समाधान हुनुपर्ने पौडेल पक्षको माग छ।

प्रतिक्रिया दिनुहोस्