दुप्चेश्वर गाउँपालिकाका उपाध्यक्ष अन्जु आचार्यको कोरोना अनुभव



नागरिकहरुको सेवामा अहोरात्र खटिरहँदा म पनि कोरोना भाइरस रोग (Covid-19) बाट सङ्क्रमित हुँन पुगें।

शनिबार २७ दिनको होम आइसोलेसन पछी अर्थात ४ औ पटक को परिक्षण पश्चात् कोरोना मुक्त रिपोर्ट आएको छ।

कोरोना भाइरसको बारेमा धेरै कुराहरु पढे सुनेपनि पहिलो पटक आफुलाई सङ्क्रमण भएको थाहा पाउँदा अलमल पर्ने र निकै डर लाग्ने रहेछ। जतिसुकै आत्मबल भएपनि यस रोगको उपचार छैन भनेपछि मनमा एक किसिमको डर हुनु स्वभाविक थियो र मलाइ पनि भयो। स्वास्थ्यमा केही असजिलो महसुस भएकोले छिमेकी र आफन्तलाई जानकारी गराएर घरमै आइसोलेसनमा बसें।

यसै बीचमा टेलिफोन, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट निरन्तर मेरो स्वास्थ्य अवस्थाबारे सुभेच्छा प्रकट गर्नुहुने महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै मेरो उपचारमा संलग्न स्वास्थ्यकर्मिहरुमा हार्दिक आभारी प्रकट गर्दछु। आफन्त, सुभचिन्तक, इष्टमित्रहरुको निरन्तरको कामनाले यो भाइरसलाई पराजित गर्न सफल भएको छु।

यो अवधिमा म र मेरो परिवारले भोगेको तिता अनुभव, आफन्त र छिमेकीको हेराई र व्यवहार हाम्रा लागि कहिल्यै नमेटिने छाप बनेका छन्। सायद सङ्क्रमित हुनु ठूलो अपराध जस्तो व्यवहार गर्नेहरुले आफू सङ्क्रमित भएमा अरुबाट यस्तै अपेक्षा गर्थे होलान् ? अलिक कडा शब्दमा भन्नुपर्दा दुःख परेको बेलामा मनसिक रुपमा कमजोर तुल्याउन लागि पर्ने मानवियताहिन मानिसहरुको यो समाज कस्तो होला ?

कोरोना सङ्क्रमितको परिचय लुकाउँदा वा समाजको डरले लुक्दा सङ्क्रमण झन फैलिने डर हुन्छ। त्यसैले रोगसँग नडराउ केवल सजग र सुरक्षित रहुँ, शारीरिक दुरी कायम गरी अनिवार्य मास्क प्रयोग गरौ। म कोरोना पोजेटिभ थिएँ र पनि तपाइहरुसँग हाँसेर कुरा गर्न तयार छु भने तपाइको अनुहार मलिन किन ? यो रोगको कुनै विशेष औषधी समेत नभएकोले यसलाई जित्ने भनेको आत्मबल र सकारात्मक चिन्तन अनि शारीरिक व्यायाम नै हो।

याद राखौ लुकेर होइन कोरोनाबारे खुलेर कुरा गरौं, एक आर्कालाई बुझेर रोगसँग लड्न सक्ने बनाऔं। आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं। त्यसैले कोरोना सङ्क्रमितलाई सामाजिक बहिस्कार होइन नैतिक र मनोबैज्ञानिक साथ र सहयोग गरौं। मेरो अनुभवले भन्छ कोरोना सामान्य रोग होइन तर सावधानी अपनाए यसलाई परास्त गर्न गाह्रो पनि छैन। औषधि उपचारसँगै उनीहरुलाई गरिने व्यवहार महत्वपूर्ण हुँदोरहेछ। सङ्क्रमितलाई दुर-दुर नगरौं। दुरी कायम गरी मायाँ गरौ, हौसला दिऔं, आत्मबल दह्रो बनाईदिऔं अनि मानवियता देखाइ देखाउँ।

अन्त्यमा ,कोरोना प्रकोपको अवस्था र सामाजिक परिस्थिति अनुसार आफैं सावधान र सुरक्षित चाडवाड मनाउनुहोला। कोसेलीको रुपमा रोग लिएर आफन्तकोमा नजाउँ यो साल सकेसम्म आफ्नै घरमा रमाइलो गरेर चाडवाड मनाऊ।।

सम्पूर्णमा शुभ दिपावली र छठ पर्व २०७७ को हार्दिक मङ्गलमय शुभकामना !

अन्जु आचार्य
उपाध्यक्ष
दुप्चेश्वर गाउँपालिका, नुवाकोट
कार्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्