एक महिना भित्र बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन



काठमाडौं कात्तिक १५ ।

शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

बञ्चरे डाँडा ल्याण्डफिल साइटको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब कुनै पनि बहानामा आलटाल नगरी तोकिएकै समयमा फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिएका हुन् ।

पहिलो र दोस्रो चरणको निर्माणको अन्तिम चरणमा पुगेको बञ्चरे ल्याण्डलफिल साइटमा निर्माणको प्रगतिबारे जानकारी लिदै उनले निर्माण कम्पनीका प्रतिनिधिलाई मंसिर १५ भित्र फोहोर विसर्जन गर्न मिल्नेगरी काम सक्न कडा निर्देशन दिएका थिए ।

काठमाण्डौ र ललितपुर दुई महानगर सहित उपत्यकाको १८ पालिकाको फोहोर व्यवस्थापन हुने ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न लिचेड पाखरीको निर्माण भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केही दिनभित्रै फोहोर विसर्जन गर्न मिल्नेगरी ल्याण्डफिल साइट निर्माण गर्न निर्देशन दिएपछि मन्त्री श्रेष्ठ निर्माण प्रगतिबारे जानकारी लिन बञ्चरेडाँडा पुगेका हुन् ।

मन्त्री श्रेष्ठले उपत्यका र आसपासका नगरलाई सुन्दर बनाउन व्यवस्थित फोहोर व्यवस्थापन अपरिहार्य रहेको उल्लेख गर्दै त्यसको लागि तत्काल बञ्चरे ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । १३ वर्षदेखि सिसडोल ल्याण्डफिल साइटको भ्याली १ र २ फोहोर विसर्जन भैरहेको थियो ।

दैनिक १ हजार १ सय मेट्रिक टन फोहोर विसर्जन हुने सिसडोल ल्याण्डफिल साइटमा काठमाण्डौ महानगरपालिकाबाट मात्र दैनिक झण्डै ७ सय मेट्रिक टन फोहर विसर्जन भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्