कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर तत्कालका लागि रोकियो



काठमाडौं कात्तिक १६ ।

कर्णाली प्रदेशको आइतवार हुने भनिएको मन्त्रिमण्डल हेरफेर रोकिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दुई मन्त्रीहरुलाई फेर्ने तयारी गरेका थिए । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन नगर्न मुख्यमन्त्रीलाई निर्देशन दिएपछि आइतवारको लागि रोकिएको स्रोतले जानकारी दिएको छ ।

मुख्यमन्त्री शाहीले आइतवार मन्त्रिमण्डल पुनर्गठन गरि प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली निकटका दुई मन्त्री हटाउने तयारी गरेका थिए । शनिवार साँझ मुख्यमन्त्री शाहीले ओलीनिकट दुई मन्त्रीहरु दल रावल र नन्दसिंह बुढालाई राजिनामा दिनको लागि संकेत गरेका थिए । तर दुवै मन्त्रीहरुले राजिनामा नदिने बरु हटाए हट्ने भन्ने अडान लिएसँगै मन्त्रिमण्डल पुनर्गठन आजको लागि रोकिएको हुनसक्ने स्रोतको दावी रहेको छ ।

मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेशबाट केन्द्रीय राजनीतिमा हलचल मच्चिएको थियो । आफूहरुविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने ओली निकट मन्त्रीहरुलाई हटाएर नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल निकट तीन मन्त्रीहरु राख्ने तयारी मुख्यमन्त्री शाही रहेका छन् ।

नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम अगाडी रहेको छ । तर कसलाई कुन जिम्मेवारी दिईनेछ भन्नेबारे एकिन छैन । बैंकिङ कसुरमा परेका कारण खड्कबहादुर खत्रीलाई हटाईएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ ।

शाहीविरुद्धको अविश्वास प्रस्तावबाट नेपाल पक्षका सात सांसदहरु हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

अविश्वास प्रस्वाव दर्ता गरेसँगै मुख्यमन्त्री शाहीले नेपाल पक्षका नेताहरुसँग तीन जना मन्त्री थप्ने र सचेतक दिने पक्षमा देखिएका थिए । तर ओली र प्रचण्डले मन्त्रीमण्डल हेरफेरको काम तत्कालका लागि रोकेका थिए । ओली र प्रचण्डबीच मुख्यमन्त्री प्रकरणमा एकमत हुन नसक्दा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढेको बुझिएको छ ।

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएको प्रकरणलगत्तै मुख्यमन्त्री शाहीले यसअघि नै प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाइसकेका छन् । भने सिता नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्