नेकपा नुवाकोटकी नेतृ बिन्दा बिकको निधन



नुवाकोट कात्तिक १६ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटकी नेतृ विन्दा बिकको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित बिकको आइतबार बिहान उनकै निवास पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा निधन भएको हो । स्तन क्यान्सरबाट ग्रसित बिक लामो समयदेखि शिक्षण अस्पताल र भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत थिइन् ।

नेकपा नुवाकोटको जिल्ला कमिटी सदस्य र परिवर्तनका लागि महिला समूह भद्रुटारका अध्यक्षसमेत रहेकी बिक सामाजिक सेवाका अगुवा महिलाका रुपमा समेत परिचित थिइन् । बिकको पार्थिव शरीरलाई आइतबार नै स्थानीय लिखु खोलामा अन्त्येष्टि गरिएको छ ।

सो क्रममा नेकपा नुवाकोटका नेता तथा वाग्मती प्रदेशका सांसद बद्री मैनाली र नेकपा नेता हिरानाथ खतिवडा,पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङ,नेता पदम उप्रेती, पञ्‍चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछाने, वडा नम्बर ३ का अध्यक्ष रामबाबु पराजुलीलगायतले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओडाएर सम्मान अर्पण गरेका थिए ।

अन्त्येष्टिका क्रममा नेकपाका अर्का टोली नेता तथा पुर्व सांसद राजेन्द्रप्रकाश लोहनी,केपी लामिछाने,श्रीकृष्ण खतिवडा,हरी गिरी लगायतले सम्मान अर्पण गरेका थिए । उनको श्रीमान्, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्