प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता



काठमाडौं कात्तिक १६ ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ।

अधिवक्ताद्वय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा अवेहलना मुद्दा दर्ता गरेका हुन् । यसअघि ओली र केसीले नै कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा २७ असोजमा फैसला गर्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको थियो । तर, अदालतको आदेशको अवज्ञा गर्दै सरकारले परीक्षण र उपचारमा बेवास्ता गर्दै आइरहेको थियो।

घटनास्थापनादेखि देशैभरका अदालत बन्द रहेकै अवस्थामा सरकारले अदालतको आदेशको पालना गर्नुको साटो उल्टै अबदेखि निःशुल्क गर्न नसक्ने भन्दै सशुल्क उपचार गर्नुपर्ने निर्णय गरेको थियो। कानुनमा अदालतको अवहेलना मुद्दामा एक वर्ष कैद र दस हजार जरिवाना हुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार दुवै सजाय हुनुपर्ने माग दाबीसहित मुद्दा दायर गरिएको हो।

सरकारले २ कात्तिकमा गरिब, असहाय, विपन्न, एकल महिला, फ्रन्टलाइनमा काम गर्न कर्मचारी लगायतका अन्यको हकमा परीक्षण र उपचारमा शुल्क लाग्ने निर्णय गरेको थियो। त्यसको चौतर्फी विरोध भइरहेको छ। विरोधकै बीच केही परिमार्जन गरेर सरकारले विपन्न र कमजोर आर्थिक अवस्था भएका नागरिकको उपचार गरिने स्पष्ट पारेको थियो।

सरकारको निर्णयपछि अहिले देशैभरका अस्पतालले धमाधम उपचारका लागि भर्ना हुनुपूर्व धरौटी रकम बुझाउनुपर्ने निर्णय गर्न थालेका छन्। जसका कारण कोरोना संक्रमणको रोकथाम र उपचारमा झनै सास्ती हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्