यातायातका पूर्वाधारको विकास र व्यवस्थीत गर्नुपर्ने अहिलको आवश्यकता हो : गृहमन्त्री थापा



काठमाडौं कात्तिक १८ ।

गृहमन्त्री रामबहादुर थापाले यातायातका पूर्वाधारको विकास र व्यवस्थीत गर्नुपर्ने अहिलको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार गृहमन्त्रालयमा महानगरिय ट्राफिक प्रहरी महाशाखाले तयार गरेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना बुझ्दै गृहमन्त्री थापाले सडकको विस्तार नगरेसम्म यातायातको समस्या हल नहुने समेत बताए ।

नेपालमा यातायातका साधन वृद्धि हुदै गएपनि सडक विस्तार हुन नसक्नुले नै ट्राफिक जाम र सडक दुर्घटना हुने गरेको उनको भनाई छ । उनले धेरै संख्यामा मोटरसाइकल लगायत नीजि सवारी साधन सञ्चालन हुने गरेकाले सार्वजनिक यातायातलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको धारणा राखे ।

गृहमन्त्री थापाले सडक दुर्घटनालाई न्युनिकरण गर्न कडा कानून बनाउनुपर्ने पनि बताए । उनले काठमाडौंमा हुने सडक जामले विकासकै काममा समेत अवरोध पुगेको तर्क गरे । कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले यातायात व्यवस्थापनमा ट्राफिक प्रहरीको जिम्मेवारी बढाउनुपर्ने बताए । त्यस्तै उनले अन्य देशको तुलनामा नेपालमा सडक जरिवाना न्युन भएकाले नै उलंघनका घटना बढिरहेको भन्दै सडक जरिवानालाई बढाउनुपर्ने धारणा राखे ।

प्रहरी महानिरिक्षक क्षेत्रीले सवारी चालक अनुमतिपत्र वितरण र सवारी विक्रिवितरणमा समेत कडाई गर्नुपर्ने धारणा राखे । त्यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले उपत्यकामा हुने सवारी चाप र दुर्घटनालाई न्युनिकरण गर्न काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी एकीकृत कार्ययोजना २०७७ तयार गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्