म्यानचेस्टर सिटीको लगातार जित



एजेन्सी,कात्तिक १९ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार जित हासिल गरेको छ । मंगलबार राति भएको समूह सीको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई ३–० ले पराजित गरेको हो । सिटीका लागि फेरान टोरेस, गाब्रियल जिसस र जोएओ क्यानसेलोले गोल गरेका हुन् ।

१२ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा टोरेसले गोल गरि सिटीलाई सुरुवाति अग्रता दिलाए । डी ब्रूयनाकै सहयोगमा जिससले ८१ औँ मिनेटमा गोल गरेका हुन् । ९० औँ मिनेटमा क्यानसेलोले गोल गरेपछि सिटी विजयी भयो । लगातार तीन खेलमा जित निकालेको सिटी ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

सोही समूह अन्तर्गत मंगलबार राति भएको खेलमा एफसी पोर्टोले मार्सेइलीलाई ३–० ले पराजित गरेको छ । ६ अंकसहित एफसी पोर्टो दोस्रो स्थानमा छ । ओलम्पिकास तीन अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्