म अहिले राजिनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली



काठमाडौं कात्तिक १९ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तत्काल पदबाट राजीनामा दिने पक्षमा नरहेको बताएका छन् ।

मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन समारोहमा बुधबार सम्बोधन गर्दै ओलीले आफूले अहिले पदबाट राजीनामा दिए देश बरबादीतर्फ धकेलिने बताए।

उनले भने, ‘मैले राजीनामा दिनु भनेको देशलाई बरबादीतर्फ लैजानु हो । के अहिले मैले राजीनामा दिन हुन्छ ? के अहिले मैले राजीनामा दिन मिल्छ ? देशका लागि पनि म राजीनामा दिनेवाला छैन।’

उनले आफूलाई हटाउन भित्रबाहिरबाट विभिन्न चलखेल भइरहेको बताए। उनले भने, ‘अस्थिरतातर्फ धकेल्ने प्रयासको कुलतमा लागेकाहरुले आलोचना गरिरहेका छन्।’

ओलीले आफू रहरले नभएर जनताको विश्वासले प्रधानमन्त्री बनेको बताए। उनले भने, ‘म यस ठाउँमा आएको रहरले होइन जनताको आवश्यकता र समर्थनले हो। जालझेल र तिकडमबाट होइन।’

उनले सरकार परिवर्तन हुन्छ भनेर शंका नगर्न पनि आग्रह गरे। ओलीले सरकारले स्थिरताका लागि र जनताको जीवनमा परिवर्तन ल्याउन काम गरिरहेको पनि बताए। उनले अर्को प्रसंगमा कोरोना भाइरसविरुद्धको लडाइँमा पनि विजय प्राप्त गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्