सरकारलाई घेरेर काम गर्न नदिने वातावरण सिर्जना भयो : प्रधानमन्त्री ओली



काठमाडौं कात्तिक २० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भन्दै मन्त्रीहरुलाई संकटको सामना गर्न तयार रहन आग्रह गरेका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा उनले पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र राजनीतिक घटनाक्रमका बारेमा चर्चा गर्दै सरकारलाई घेरेर काम गर्न नदिने वातावरण बनाइएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार बिहिवारको मन्त्रिपरिषद् बैठकले कुनै महत्वपूर्ण निर्णय भने गरेन। प्रधानमन्त्रीले मुलुकलाई गम्भीर मोडमा पुर्याउने काम भइरहेको बताएका थिए ।

उनले पार्टीभित्र र बाहिर देखिएको राजनीतिक घटनाक्रमको आफूले प्रतिवाद गर्ने बताएका थिए । पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मतभेत तीव्र बनिरहेका बेला ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिरबाट नै असहयोग भइरहेको बताएका हुन् ।

बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरिएको भन्दै आफूले अहिलेको परिस्थितिमा राजीनामा नदिने बताएका थिए। प्रधानमन्त्रीले आफ्नो राजीनामा मागिएको बताए पनि नेकपाका नेताहरुले भने प्रधानमन्त्रीको भनाइलाई गम्भीरतापूर्वक लिएका छन्।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग १५ कात्तिकमा भएको भेटवार्तापछि ओली निकटका नेताहरुले दाहालले आफू प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको सार्वजनिक गरेका थिए। तर, दाहाल निकट स्रोतले भने उक्त कुराको खण्डन गरिसकेको छ।

नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पनि नेपाल समयसँगको कुराकानीमा अहिले पार्टीका कुनै कमिटी बैठक नबसेको र प्रधानमन्त्रीको राजीनामा नमागिएको बताएका थिए। उनले एक्लाएक्लै भएका भेटवार्तामा कसैले उक्त विषय उठाएको भए पनि त्यो पार्टीको आधिकारिक धारणा नहुने प्रष्ट्याएका थिए। प्रधानमन्त्री ओलीले आफैँ राजीनामाको विषय सार्वजनिक गरेको विषयको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्