संसदको हिउँदे तत्काल अधिवेशन आह्वान गर्न पूर्व सभामुखहरुको माग



काठमाडौं कात्तिक २२ ।

पूर्व सभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन्।

संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोर्‍याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने पूर्व सभाुमखहरुको भनाई छ। लामो समय संसद बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहार लगत्तै अधिवेशन आह्वान हुनुपर्ने पूर्वसभामुखहरुले बताएका छन्।

पूर्व सभामुख ओनसरी घर्तीले तिहारपछि अनिवार्य रुपमा संसद चलाउनुपर्ने बताइन्। संविधान अनुसार ६ महिनाभन्दा बढी समय संसद बन्द गर्न नहुने स्मरण गराउँदै उनले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्नपनि संसद अनिवार्य रहेको बताइन्।

कोरोना महामारीको समयमा सबै राजनीतिक एकै ठाउँमा रहेको अवस्थामा संसदबाट यस सम्बन्धी थप छलफल र बहस गरेर अझ राम्रो हुने उनले बताइन्। जनताको प्रतिनिधिमुलक संस्था संसद बन्द हुँदा देशमा अराजकता मौलाउने डर हुने उनले बताइन्। विधि विधान अनुसार एउटा प्रकृयामा अगाडि बढ्नका लागि संसदको आवश्यकता रहेको उनले बताइन्।

पूर्व सभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद अधिवेशन सुचारु गर्नु अनिवार्य भएको बताए। सरकारले संसदको अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानूनहरु अलपत्र परेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसदको अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्व सभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त रहेको बताए। सरकारले आकस्मिक रुपमा संसद अधिवेशन अन्त्य गर्दा प्रतिपक्षी दलले दतारुकता देखाउन नसकेको उनले स्वीकार गरे।

संसदको कृयाशिलता कायम राख्न तत्काल संसद बोलाउनुपर्ने पक्षमा कांग्रेस रहेको उनले बताए। सरकारले संसदको अन्त्य गरेर लोकतन्त्रको आत्मालाई मार्ने काम भएको उल्लेख गर्दै उनले संसद सुचारु गरेर लोकतन्त्रको आत्मा जोगाएर देशलाई समृद्धितर्फ लैजान सकिने बताए।

प्रतिक्रिया दिनुहोस्