भारतीय सेनाध्यक्षको नेपाल भ्रमण सकारात्मक छ : सुरक्षाविज्ञ डा. भट्टराई



काठमाडौं कात्तिक २२ ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक ऊर्जा प्रदान गरेको सुरक्षाविज्ञ डा उमेश भट्टराईले बताएका छन् ।

दुई देशबीच संवादहीनताको अवस्थामा रहेको कूटनीतिलाई नरवणेको भ्रमणले केही हदसम्म सकारात्मक बनाउन सहयोग पुगेको सुरक्षाविज्ञ भट्टराईले बताएका हुन् । शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सुरक्षाविज्ञ भट्टराईले नरवणेको भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई केही हदसम्म भएपनि गतिशील बनाउने विश्वास जगाएको उल्लेख गरे।

सार्वभौंम सत्ता सम्पन्न राष्ट्रको हिसाबले दुई देशबीचको सम्बन्धलाई बढाउन चाहने भएपनि एक वर्ष देखि रोकिएको प्रकृयामा यो भ्रमणले कूटनीतिक सुरुवात भएको छ भन्ने सन्देश दिएकोले सकारात्मक रुपमा लिनुपर्ने उनको भनाइ छ।

दुई देशबीचको सेनाको सम्बन्ध बेलायती सेना रहँदादेखिकै भएकोले पनि सैन्य कूटनीतिलाई भिन्न किसिमले व्याख्या गर्नुपर्ने आवश्यकता नरहेको उनको तर्क छ। कूटनीति सैन्य भएपनि वा गैरसैन्य भएपनि अन्ततोगत्वा मुलुुकलाई निकास दिन मद्दत पुग्ने पनि भट्टराईको भनाई छ।

इतिहासदेखिकै सम्बन्धका कारण नेपाली सेनाले भारतीय सेनासँग कूटनीतिक सम्बन्ध विकास गर्न खोज्नुलाई अन्यथा ठान्न नहुने पनि भट्टराईले उल्लेख गरे। स्वतन्त्र मुलुकको हिसाबले कुनैपनि स्थितिमा पछाडि हट्न नहुने र अहिलेको भ्रमणले कूटनीतिक वातावरण सकारात्मक बनाएको स्पष्ट हुने पनि उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस्