पूर्वसंसाद वीरबहादुर लामाको निधन



काठमाडौं कात्तिक २३ । पूर्वसंसाद एवं वरिष्ठ राजनीतिज्ञ वीरबहादुर लामाको निधन भएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेका पूर्वसांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य लामाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा आइतबार बिहान ४ बजे निधन भएको हो ।

केही दिनदेखि बेहोस रहेका लामाको पाटन अस्पतालको आईसीयूमा उपचारमा राखिएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि लामालाई बिहीबारबाट भ्यान्टिलेटरमा राखेर उपचार गराइए पनि सुधार हुन सकेन ।

२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेदेखि नै लामाको पाटन अस्पतालमा नियमित रुपमा डायलाइसिस हुँदै आएको थियो । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय कोरोना प्रभावका कारण नियमित डाइलसिस हुन सकेको थिएन । पछिल्लो समय भने उनलाई निमोनिया देखिएको थियो ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका लामा २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा जितेका थिए । २०६२–०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए ।

लामा जिबिसका सभापति हुँदा काठमाडौंलाई तराईसँग जोड्ने मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भाग्ने १५ जना राजबन्दी मध्य लामा एक थिए । मकवानपुर फाखेलका स्थानीय बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामासहितका नेताहरुले पार्टी छाडेका थिए ।

त्यागी नेताका रुपमा समेत चिनिएका नेता लामाको निधनमा विभिन्न दलका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

संघीय सांसद हितबहादुर तामाङ
२०७७/०७/२३ ( भावपुर्ण श्रद्धाञ्जली) पुर्व सांसद एवम् मकवानपुर जिल्ला इन्द्र सरोवर गाउँपालिका फाखेल निवासी समाजसेवी एवम् नेता कमरेड बिरबहादुर लामाको अाज बिहान ४.बजे पाटन अस्पतालमा ७०वर्षको उमेरमा असामायिक निधन भएको खबरले मलाई अत्यन्त मर्माहित तुल्याएकोछ। उहाँलाई भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँका परिवार तथा अाफन्तजनलाई गहिरो समवेदना व्यक्त गर्दछु।
उहाँले नेपालको कम्युनिस्ट अान्दोलनमा लामो संघर्षशील जीवन बिताउनु भएको छ ।
उहाँ कमरेड सिपि मैनालीको नेतृत्वमा भएको नक्खु जेल ब्रेक कार्यक्रममा सहभागीहरु मध्य एक असाधारण योद्धाको रुपमा स्थापीत हुनुहुन्छ। उहाँ लामो समयदेखि मृगौला रोगबा पीडित हुनुहुन्थ्यो र ५ दिनदेखि पाटन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

जसमा नेता अशोक राई
मेरा मित्र पहिचानका लागि संघर्षका धरोहर, परिवर्तनको आन्दोलनका महारथि, नख्खुजेल तोडेर सुरक्षित रुपमा जनताको बीचमा पुगेर संगठन गर्ने कुशल संगठक, युवाअवस्थामा मलाई राजनीतिक प्रेरणा दिने मध्येका एक, तत्कालीन एमाले जातिवादि बाटोमा लागे पछि परित्याग गरेर जातिय र वर्गिय मुक्ति अथवा समानताको संघर्षमा सामेल एक योध्दा लडाई अधुरै छाडेर जानुभयो । बीरबहादुर लामा मकवानपुर जिल्ला का पूर्व जिल्ला सभापति, २०५६ सालमा मकवानपुर जिल्ला बाट निर्वाचित प्रतिनिधि सभाका माननीय सदस्य, संघीय समाजवादी पार्टीका संस्थापक उपाध्यक्ष आज हामीबाट विदा हुनु भयो। हार्दिक श्रध्दाञ्जलि छ। शोकाकुल परिवारजनमा समवेदना छ। आफु कोरोना संक्रमणका कारण उपस्थित हुन नसकेकोमा दुखि छु।

वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ
दु:खद: खबर! वीर ब दाइप्रती हार्दिक श्रद्धाञ्जली।

पूर्वासांद योगेन्द्र घिसिङ
पुर्ब संसाद एवं वरिष्ठ राजनीतिज्ञ वीर बहादुर लामाको पाटन अस्पतालमा अाज बिहान ४ बजे निधन भएको छ।वहाँ प्रति हार्दिक श्रद्धाञ्जली ! परिबारजनमा समाबेदना !

प्रतिक्रिया दिनुहोस्