आईपीएल : दोस्रो क्वालिफायरमा दिल्ली र हैदराबाद भिड्दै



एजेन्सी कात्तिक २३ ।

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आइतवार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने भएका छन् ।

खेल बेलुका पौने ८ बजे यूएईको आबुधाबीमा सुरु हुनेछ । आजको खेलको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोली बाहिरिने छ । दोस्रो क्वालिफायर विजेता टिमले फाइनलमा उपाधिका लागि साविक विजेता मुम्बईको सामना गर्नेछ ।

पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा फाइनलमा पुग्ने अवसर गुमाएको दिल्ली हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ । हैदराबाद पनि दिल्लीलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।

इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको हैदराबाद पछिल्लो चार खेलमा लगातार विजयी भएको छ । पछिल्ला ६ खेलमध्ये ५ खेलमा दिल्ली पराजित भएको छ ।

आईपीएलका १३ औं संस्करणमध्ये दिल्ली अहिलेसम्म फाइनल पुग्न सकेको छैन । दिल्ली आजको खेलमा विजयी भए पहिलो पटक फाइनलमा पुग्ने इतिहास बनाउनेछ ।आईपीएलको फाइनल खेल मंगलवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्