प्रधानमन्त्रीलाई माधव नेपालको प्रश्न: यस्तो पाराले पार्टीका समस्या हल हुन्छन् ?



काठमाडौं कात्तिक २३ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यले बैठक बोलाउन लिखित आग्रह गरेको भोलिपल्ट प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । 

प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका थिए। ओलीले छलफलका लागि बोलाएपछि नेता नेपाल स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेका साथमा आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले कुनै ठोस कुरा नगरेको भेटमा सहभागी नेता सुरेन्द्र पाण्डेले बताए। प्रधामन्त्रीले छलफलमा अनेक कहानी सुनाएको तर, ठोस प्रस्ताव नल्याएपछि नेता नेपाल चर्किएका थिए। उनले पार्टी र सरकारका समस्या यस्तो पाराले समाधान नहुने पनि बताएका थिए।

“जहिले यस्तै कुरा गरेर हुँदैन। यो पाराले पार्टीका समस्या हल हुन्छन् ?”, नेता नेपालले प्रधानमन्त्रीलाई भनेको उधृत गर्दै भेटमा सहभागी अर्का एक नेताले भने, “तपाईं पार्टीको अध्यक्ष पनि, प्रधानमन्त्री पनि। ठोस प्रस्ताव ल्याउनु पर्दैन ? जहिले टालटुले कुरा गर्ने रु”

ओलीले नेताहरूलाई बालुवाटार बोलाएर एकअर्काविरुद्ध उचाल्ने गरेको नेता नेपालले  गुनासो गरेका थिए। “यसले यो भन्यो, उसले त्यो भन्यो भनेर तपाईंले सुनाउँदै हिँड्ने होइन। यो राम्रो भएन”, नेता नेपालले ओलीसँग भने, “कमिटीका बैठक बसौं। आत्मआलोचना गर्दैै अगाडि बढौं। विवाद समाधानका लागि ठोस प्रस्ताव ल्याउने जिम्मा तपाईंकै हो, ल्याउनुस्।”

भेटमा नेताहरूले पार्टी र सरकारभित्रका समस्या समाधानका लागि ओलीसँग ठोस प्रस्ताव मागेका थिए। तर, ओलीले आलटाल गरेका थिए।  उनले पार्टीका समस्या समाधानका लाग मिलेर जानुपर्ने प्रस्ता समेत गरेका थिए। नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार ओलीलाई भेटेर सचिवालय बैठक बोलाउन लिखित आग्रह गरेका थिए। 

नेकपाभित्र पछिल्लो समय चर्किएको विवाद समाधान हुन सकेको छैन। प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूहले छुट्टाछुट्टै छलफल भने गरिरहेका छन्। 

प्रतिक्रिया दिनुहोस्