दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि



काठमाडौं, कार्तिक २४ । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो ।

खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपैयाँसम्म पर्न थालेको छ ।

त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८० रुपैयाँ पर्ने चिनी ९० रुपैयाँसम्म पर्न थालेको छ । सनफ्लावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपैयाँ पर्न थालेको छ । तोरीको तेल प्रतिलिटर १३ प्रतिशतले वृद्धि भई २ सय ३० बाट २ सय ६० रुपैयाँ पुगको छ । त्यसैगरी भटमासको तेलको मूल्य पनि करीब १४ प्रतिशतले वृद्धि हुँदै प्रतिलिटर १ सय ५० बाट १ सय ७० रुपैयाँ पुगेको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्