कोरोना संक्रमणबाट मोरङमा एकैदिन ११ जनाको मृत्यु



मोरङ कात्तिक २५ ।

मोरङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

नौ जनाको उपचारका क्रममा अस्पतालमा र २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा पाँच, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, होम आइसोलेसनमा दुई र न्युरो अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

नोबेल अस्पतालमा तेह्रथुम म्याङ्लुङ–१० का ५७ वर्षीय पुरुष, झापा गौरादह–५ का ६५ वर्षीय पुरुष, झापा हल्दीबारी–४ का ७० वर्षीय पुरुष, उदयपुर त्रियुगा–३ का २१ वर्षीय पुरुष र मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको प्रबन्धक नारायण दाहालले बताए।

मृत्यु हुने सबैलाई श्वासप्रश्वासमा समस्या देखिएको उनले बताए। दाहालका अनुसार बिहान साढे ५ देखि साढे ८ सम्ममा पाँच जनाको मृत्यु भएको हो। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा विराटनगर–१ का ३७ वर्षीय पुरुषको मंगलबार बिहान १०ः३० बजेतिर मृत्यु भएको छ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो। कोसी कोभिडमा ६९ वर्षीया महिलाको मंगलबार बिहान ज्यान गएको छ। सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक बस्नेतले बताए। विराटनगर–३ का ७७ वर्षीय पुरुषको पनि कोशी कोभिडमै बिहान साढे ७ मा ज्यान गएको हो।

न्युरो अस्पताल विराटनगर मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको छ। निमोनियाको समस्या रहेका पुरुषलाई कात्तिक २१ गते अस्पताल भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए। मोरङकै सुन्दरहरैंचा–७ की ७७ वर्षीया महिलाको होम आइसोलेसनमा ज्यान गएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। विराटनगर महानगरपालिका–३ का ८९ वर्षीय पुरुषको मंगलबार राति होम आइसोलेसनमा मृत्यु भएको छ। वडाध्यक्ष विनोद बस्नेतका अनुसार वृद्धको मृत्यु राति ९ बजेतिर भएको हो। पीसीआर परीक्षण गराउँदा वृद्धलाई १७ दिनअघि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्