दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्सले जित्यो आइपिएलको उपाधि



एजेन्सी,कात्तिक २६ । इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै पाँचौ पटक आइपिएलको उपाधि जितेको हो ।

दिल्ली क्यापिटल्सले दिएको १५७ रनको लक्ष्य पछाएको मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।मुम्बईका लागि कप्तान रोहित शर्माले सर्बाधिक ६८ रन बनाएका थिए । रोहितले ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६८ रन बनाएका थिए ।

त्यस्तै मुम्बईका लागि इशान किशनले अविजित १९ बलमा ३३ रन बनाए भने क्वेंटन डिककले २० रनको योगदान गरेका थिए । त्यस्तै सूर्यकुमार यादव १९ रन बनाएर रन आउट भएका थिए भने केरन पोलार्ड ९ रन बनाएर आउट भए । त्यस्तै हार्दिक पाण्डेयले ३ रन बनाए भने क्रुनाल पाण्डेयले एक रन बनाए । दिल्लीका बलर एनरिच नोर्त्जेले २ विकेट लिए भने मार्कोस स्टोइनिस, र कागीसो रबाडाले एक- एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्