नुवाकोटको बेलकोटगढीमा २० वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन



तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय नुवाकोट

नुवाकोट कात्तिक २६ । बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ ।

तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको हो । नयाँ भवनको मङ्गलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने बताए ।

वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको बताए ।

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय नुवाकोट

वाग्मती प्रदेशमार्फत प्राप्त १ करोड ८७ लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्तामैत्रीसहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्षसहित बहुविपद् प्रतिरोधी भवनमा विभिन्न नौवटा कोठा रहेका छन् ।

प्रहरी चौकी झिल्टुङ स्थापनाको समयमा साविक दुईपिपल गाविसको मुकाम रहेको स्थान डबलीमा भए पनि चौकीमा क्षति पुगेपछि पुनःस्थापनाको क्रममा स्थानन्तरण गरेर घ्याम्पेस्थित भाडाको घरबाट सञ्चालन गर्दै सोही स्थानमा नयाँ भवन बनाइएको हो ।

नयाँ भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउने बेलकोटगढी नगरपालिका–६का गोपीप्रसाद घिमिरे र उत्तरकुमार घिमिरेलाई प्रंशसापत्रले सम्मान गरिएको छ । सशस्त्र युद्धको समयमा क्षति पुगेका प्रहरी युनिटको पुनःनिर्माणअन्तर्गत किम्ताङ प्रहरी चौकीको पनि निर्माण सम्पन्न भएकाले आज उद्घाटन गर्न लागिएको छ ।

तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय नुवाकोट

जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्ति

झिल्टुङ नुवाकोटको भवन समुद्घाटन कार्यक्रम सम्पन्न :-
आज मिति २०७७ ।०७।२५ गते मंगलबारका दिन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री श्री शालिकराम जम्कट्टेल ज्यूद्वारा श्री प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा निर्मीत प्रहरी चौकी झिल्टुङ नुवाकोटको कार्यालय तथा ब्यारेक भवनको समुद्घाटन सु-सम्पन्न भएको, कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल ज्यू, बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल ज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक श्रीमान बसन्त कुमार लामा ज्यू, प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरी ज्यू, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल ज्यू, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की ज्यू, सशस्त्र प्रहरी बल नुवाकोटका प्रमुख सशस्त्र प्रहरी नावय उपरीक्षक मदन ढुङ्गाना ज्यू, राष्ट्रिय अनुसन्धान बिभाग नुवाकोटको प्रमुख अनुसन्धान अधिकृत हेमन्त चौधरी ज्यू, बेलकोटगढी नगरपालिका वडा नं.२, ४,५,६ र ७ वडाध्यक्ष ज्यूहरु तथा प्रहरी चौकी झिल्टुङ नुवाकोटका लागी निशुल्क रुपमा जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरु लगायत स्थानिय जनप्रतिधि, संञ्चारकर्मी एंब् प्रहरी कर्मचारीहरुको उपस्थीती रहेको थियो ।

कार्यक्रममा प्रहरी चौकी झिल्टुङको भवन निर्माण कार्यमा सहयोगी भुमिका निर्बाह गर्ने ब्यक्तिहरु तथा बेलकोटगढी नगरपालिका एंब् प्रहरी चौकी झिल्टुङ नुवाकोटको लागी निशुल्क रुपमा जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरु जि.नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.०६ निबासी गोपिनी घिमिरे र ऐ.ऐ निबासी उत्तर कुमार घिमिरे ज्यूलाई प्रंशसापत्र सहित सम्मान गरिएको ।

साथै भोली (मिति २०७७।०७।२६ गते बुधबार ) आन्तरिक मामिला तथा कानुन मन्त्री श्री शालिकराम जम्कट्टेल ज्यूद्वारा जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नव-निर्मित प्र.ह./प्र.ज.ब्यारेक र प्र.चौ.किम्ताङ नुवाकोटको कार्यालय तथा ब्यारेक समुद्घाटनको कार्यक्रम रहेको ।

प्रतिक्रिया दिनुहोस्