उपेन्द्र पौड्याललाई बैंकर्स सङ्घको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’
काठमाडौं,मंसिर १२ । नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएको भन्दै सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गर्नुभएको हो ।
पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुजको एसिया प्रशान्त क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याउनुभएको थियो ।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै व्यावसायिक यात्रा सुरु गर्नुभएका पौड्यालले परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको सङ्घले जनाएको छ ।
सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताउनुभयो ।
कार्यक्रममा गभर्नर पौडेलले सरोकारवालासँगको संवादका आधारमा मौद्रिक नीति तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैंकहरूलाई कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न आग्रह गर्दै उहाँले लगानी ठूला व्यावसायिक घरानामा मात्र सीमित नराखी साना व्यवसायी र सर्वसाधारणसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यसअघि उपाध्यक्ष रहनुभएका रेग्मी नयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने पनि उल्लेख गर्नुभयो ।

