निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाउँछौं : अर्थमन्त्री पौडेल



काठमाडौं कात्तिक २६ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र बिना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका हुन् । कोरोना भाइरस कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई परास्त गर्दै अर्थतन्त्रलाई पुनरोत्थान गर्न, रोजगारीका अवसर बढाउन र उत्पादन बढाउने काम निजी क्षेत्र बिना सम्भव नभएको मन्त्री पौडेलले बताए ।

अहिलेको प्रतिकूल परिस्थितिका बीच पनि व्यवसाय सुचारु गर्न र राष्ट्रिय अर्थतन्त्रमा आ–आफ्नो ठाउँबाट योगदान दिन अनुकूल परिस्थितिको निर्माण गर्ने भूमिकामा सरकार रहेको उनको भनाइ थियो । यस्तै, सरकारले घोषणा गरेका कार्यक्रमहरू कार्यान्वयनमा नगएको सम्बन्धमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए । सरकारले घोषणा गरेको पुनर्कर्जा तथा स्टीमुलस प्याकेज कार्यान्वयनको चरणमा रहेको पनि उनले जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजश्वका दर घटाउन माग गरेका थिए । सरकारले राजश्वका दर घटाउँदा कारोबार बढ्न जाने र कारोबार बढेपछि स्वतः राजस्वको आकारसमेत बढ्ने भएकाले छिटोभन्दा छिटो राजश्वका दर घटाउनुपर्ने उनको भनाइ थियो ।

करका दर उच्च हुँदा कुनै पनि वस्तुको मूल्य बढी हुने भएकाले कतिपय सामानहरूको अवैध आयात हुने गरेको व्यवसायीहरूले बताएका छन् । त्यसैले पनि भन्सार दर, राजश्व, मूल्य अभिवृद्धि कर लगायतका करका दरहरूमा सुधार आवश्यक रहेको तर्क व्यवसायीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्