सप्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो
सप्तरी, मंसिर १२ । सप्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या २०१ पुगेको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन्।
अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरूले नियमित उपचार गराउँदै आएका छन्। केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवका अनुसार उपचारका लागि सम्पर्कमा आउनेमध्ये अधिकांश २० देखि ५० वर्ष उमेर समूहका छन्।
उहाँका अनुसार विसं २०८१ मा १८९ र २०८२ मा १९५ जना एचआइभी सङ्क्रमित रहेका थिए। पछिल्लो तीन वर्षयता जिल्लामा प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत अस्पतालमा सञ्चालित उपचार केन्द्रमा १० बालबालिकाले समेत नियमित औषधि सेवन गरिरहेका छन्।
कतिपय सङ्क्रमित उपचार केन्द्रको सम्पर्कमा आउन नचाहेकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने वरिष्ठ स्टाफ नर्स यादवले बताउनुभयो। नियमित उपचारका लागि आउन नसक्ने सङ्क्रमितलाई स्वास्थ्यकर्मीले घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।
अस्पतालका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा विसं २०५२ देखि एचआइभी सङ्क्रमितको उपचार सेवा सुरु गरिएको हो।

