नेकपा विवाद उस्तै: दुबै पक्ष एकाअर्कालाई गलाउने रणनीतिमा



काठमाडौं,कार्तिक २७ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद थप तनावपूर्ण बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण विगत ६ महिना अघिबाट शुरु भएको विवाद थप उत्कर्षमा पुगेको हो । सचिवालयको बैठक नबोलाउने पार्टी अध्यक्ष ओलीको अडान र सचिवालय बैठक बोलाउनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताको माग नै नेकपाभित्र प्रतिष्ठाको विषय बन्न पुगेको छ ।

पार्टीको विधानअनुसार बैठक बोलाउन दुई अध्यक्षबीच सहमति भएपछि महासचिवले बैठक बोलाउने गर्छन् । तर अध्यक्षद्वयबीच नै आ–आफ्नो अडान कायम रहेपछि सहमति जुट्न सकेको छैन । सचिवालयको बैठक बोलाउन प्रचण्डले आग्रह गर्दा पनि ओलीले अस्वीकार गरेपछि सचिवालयको बहुमत सदस्यले लिखितरुपमा नै बैठक बोलाउन माग गरेका हुन् ।

पार्टी एकता भएपछि सचिवालय बैठक बोलाउन लिखित माग गरेको सम्भवतः पहिलो घटना हो । प्रधानमन्त्री ओलीले पार्टी स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष रुष्ट बन्दै आएको छ । तर प्रधानमन्त्री ओलीले भने पार्टीले सरकारको काममा अनावश्यक हस्तक्षेप गरेर काम नै गर्न नदिएको आरोप लगाउँदै आउनुभएको छ । दुवै पक्षबीच एक अर्कालाई आरोप प्रत्यारोप लगाउने शृंखला चलिरहेको छ । विवाद समाधानका लागि भन्दा पनि ओलीपक्ष र प्रचण्ड–नेपाल पक्ष एक अर्कालाई गलाउने रणनीतिमा जुुटेका छन् ।

यो समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्