नेपालको सीमा नमिचेको प्रमाण दिन कांग्रेस नेता शाहीको चीनलाई चुनौती



काठमाडौं कात्तिक २७ ।

नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको प्रमाण पेश गर्न चीन सरकारलाई चुनौती दिएका छन् ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले नै नेपाली भूमि चीनले मिचेको भनेर ‘हल्ला’ फैलाउनेमा मुख्य जिम्मेवार शाही रहेको आरोपसहित समाचार प्रकाशित गरेपछि कांग्रेस नेता शाहीले चीनलाई चुनौती दिएका हुन् । ग्लोबल टाइम्सले हालै एक लामै समाचार प्रकाशित गर्दै कांग्रेससहित, भारत र पश्चिमा शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाएको आरोप लगाएको थियो ।

पूर्वमन्त्री एवं कर्णाली प्रदेश प्रमुख विपक्षी दलका नेता शाहीले विज्ञप्ति जारी गर्दै चीनले लगाएको उक्त आरोप अस्वीकार गर्दै नेपाली भूमि नमिचेको प्रमाण पेश गर्न चुनौती दिएका हुन् । शाहीले दशगजा क्षेत्रमा समेत चीनले तारबार गरेर आफ्नो तर्फ पारेको, नेपाली सुरक्षाकर्मीहरुलाई प्रवेश गर्न रोक लगाइएको, १२ नम्बर सीमा पिल्लरलाई एकतर्फी रुपमा मर्मत गरेको लगायतका विषय विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शाही नेतृत्वको टोलीले हुम्लाको लिमीमा स्थलगत भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्