एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार छ प्रस्तावित : राजदूत डा.खतिवडा



काठमाडौं कात्तिक २७ ।

अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत डा.युवराज खतिवडाले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसीबारे प्रष्ट पार्न अमेरिका तयार रहेको बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा.खतिवडालाई सरकारले अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार संसदीय सुनुवाई समितिमा उपस्थित भएका डा. खतिवडाले एमसीसीबारे आफ्नो भूमिका फेरिएको बताए । अर्थमन्त्रीका रुपमा सम्झौता संसदबाट पारित गराउन महत्वपूर्ण भूमिका खेलेको भएपनि अब परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार काम गर्ने उनले बताए ।

साथै बुझाइको फरकपनले उठेका कतिपय कुराहरुमा बुझाउने काम गर्ने समेत खतिवडाले बताए । अमेरिकी अधिकारीहरुले विकासबाहेक अरु स्वार्थ नभएको भनेकाले नेपालमा उठेका विषयहरुमा छलफल गरेर समझदारी बनाउन सकिने उनले बताए । साथै युएसएआईडीको ठूलो सहयोगलाई पनि नेपालको हित, प्राथमिकता र राष्ट्रिय बजेट प्रणालीमा ल्याउने प्रयास गर्ने डा। खतिवडाले जानकारी दिए ।

आफूविरुद्ध परेका उजुरीहरुमा जवाफ दिँदै डा। खतिवडाले शैलीगत रुपमा व्यक्तिगत कमी कमजोरी भएपनि नैतिक र आर्थिक रुपमा आफू कमजोर नभएको बताए । २० औं वर्ष सार्वजनिक जीवनमा बसेको र १५ वर्ष विभिन्न लाभका पदमा बसेर काम गर्दा कारवाहीमा परेका, करछलीमा परेका र बैंकिङ कसुरमा कारवाहीमा परेकाहरुले उजुर गर्नु सामान्य भएको उनले बताए ।

डा. खतिवडाले अर्थमन्त्रीको कार्यकालमा केही गलत काम भएको भए संसदीय समितिमार्फत छानबिन गर्न आग्रह गरे । नीतिगत रुपमा गर्नुपर्ने काममा सोचमा केही फरक परेको भएपनि असल मनसायले काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्