बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ दिने सरकारको निर्णय



काठमाडौं कात्तिक २७ ।

बलात्कारपछि हत्या गरिएकी सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्झना विकको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अ‍ोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ । २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

यसैगरी अन्तर्राष्ट्रिय सीमा नाका मङ्सिर ३० गतेसम्म बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । यसअघि कात्तिक ३० सम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारले सङ्क्रमणको दर बढ्दै गएकाले मङ्सिर ३० गतेसम्म कायम गरिएको उनले बताए। तर नेपाल आउनैपर्नेहरूको हकमा सरकारले तोकेका ठाउँबाट प्रवेश गर्न पाइने छ ।

सबै सङ्घीय र प्रदेश कार्यालयहरूमा विद्युतीय सरकारी लेखा प्रणाली र सङ्घ र र प्रदेशका सबै कार्यालयहरू तथा पालिकामा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गर्ने निर्णय पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्