सरकारी प्रयोगशालामा कोरोनाको लक्षण भएकाहरुको परीक्षण निःशुल्क हुने



काठमाडौं कात्तिक २७ ।

कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार गरेको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र एचईओसीले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । अब सरकारी प्रयोगशालामा कोरोना संक्रमणको लक्षण वा चिह्न भएकाहरुको परीक्षण निःशुल्क हुनेछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार ओपीडीमा चिकित्सक वा स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो १०० डिग्री फरेनहाइट वा सो भन्दा बढी तथा कोभिडका अन्य लक्षण भएकाहरुको निःशुल्क पीसीआर परीक्षण हुनेछ ।

यस्तै कोरोना संक्रमणको लक्षण भएका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ । कोरोना परीक्षण र उपचार सेवा लिने व्यक्तिले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा सबै परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार सक्षम, इच्छुक र योगदान गर्न चाहनेहरुले परीक्षण र उपचारमा योगदान गर्न पनि सक्नेछ । तर यो ऐच्छिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्