तातोपानी नाकासम्बद्ध व्यापारीको लगानी डुब्ने संकेत



तातोपानी, कात्तिक २८ । अर्बाै लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीनबाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने खतरामा पुगेको छ । सिजन सकिएपछि मात्रै सामग्री नेपाल आइपुग्न थालेपछि विक्री गर्न नसक्दा लगानी डुब्ने खतरामा पुगेको हो ।

तातोपानी नाका पुनः सूचारु भएपनि मालवाहक सामग्री नेपालमा अपेक्षाकृत भित्रिएको छैन । नेपाली व्यवसायीको दसैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएर बसेको छ । जाडोको सामग्री गर्मीयाममा र गर्मीका सामग्री जाडोयाममा मात्रै तातोपानी नाका हुँदै नेपाल भित्रिने क्रम बढेपछि व्यवसायीको लगानी जोखिममा परेको हो ।

लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सूचारु भएपनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ । नाकाबाट निश्चित मात्रै मालवाहक कन्टेनर नेपाल भित्रिँदा खासामा रहेका सामग्री काठमाण्डौं ल्याउन करिब डेढ महिना लाग्ने भएको हो ।

नेपाली व्यवसायीले दसैं अगावै विक्री गर्नुपर्ने सामग्री खासामा अड्किएका थिए । चिनियाँ पक्षले निश्चित मात्र गाडीमा सामान खासाबाट तातोपानी सुख्खा बन्दरगाहमा पठाउँदा खासामा थन्किएका नेपाली व्यवसायीको दसैं अघि स्टोर गरिएका सामान काठमाडौ आइपुग्न ढिलाई हुने देखिएको हो । दसैं सकिएको र जाडोसमेत मध्यअवस्थामा आएकाले काठमाण्डौं भित्रने सामान विक्री गर्न व्यवसायीलाई कठिनाई हुने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।

नाका खुलेपनि सामग्री चीनबाट निकै कम आएको छ । अहिलेकै गतिमा चिनबाट सामान छाड्ने हो भने खासामा रहेका सामान राजधानी आइपुग्न मात्र डेढ महिना लाग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्