ओखलढुंगा खिजिदेम्बाका १८० किसानलाई कृषि सामग्री वितरण



ओखलढुंगा,कात्तिक २९ । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका र हेल्भेटास नेपालको संयुक्त साझेदारीमा किसानलाई कृषि सामग्री वितरण गरिएको छ । कृषि तथा पशु सेवा कोभिड १९ विशेष सहयोग कार्यक्रम अन्तर्गत गाउँपालिकाका १८० जना किसानलाई कृषि सामग्री वितरण गरिएको  हो ।

उक्त कार्यक्रम अन्तर्गत कृषि फर्म तथा कृषि समूह मार्फत बेमौसमी तरकारी खेतीका लागि प्लाष्टिक पोलिहाउस तथा सिंचाइ सेट हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर  रोकाले जानकारी दिए । यस्तै सोही कार्यक्रम अन्तर्गत गाउँपालिकास्तरीय पशु प्रयोगशाला स्थापनाका लागि आवश्यक यन्त्र, उपकरण र सामग्रीहरुको व्यवस्था  र कृषि उपज संकलन तथा बिक्री केन्द्रका लागि सहयोग सामग्री समेत वितरण गरिएको छ ।

कुल ४९ लाख १७ हजार ५ सय रुपैयाँ लागतमा सामग्री खरिद गरेर कृषि सामग्रीको व्यवस्था तथा वितरण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्